मनोहरा साहित्य समाजद्वारा खोलाघरे साहिंलोकृत ‘देउमाईका सुसेलीहरु’ लोकार्पित

bmn.news

-जयराम बिडारी मनोहरा साहित्य समाजको ११२ औँ रचना वाचन शृङ्खला सम्पन्न गरिएको छ । सो समारोहमा समाजका कोषाध्यक्ष तथा स्रष्टा पदयात्री खोलाघरे साहिंलोकृत ‘देउमाईका सुसेलीहरु’ पुस्तक विमोचन समेत गरिएको छ । कार्यक्रम समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा वरिष्ठ साहित्यकार गोविन्द घिमिरे 'वेदमणि'को प्रमुख आतिथ्य तथा विश्वज्ञान पाठशालाका प्राचार्य मातृका कार्की,साहित्यकार छत्रभूषण दाहाल,खोदनाथ चापागाईं एवं चार दर्जनजति साहित्यानुरागीको समुपस्थितिमा सम्पन्न गरिएको थियो । विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार दुर्गा अधिकारी 'भँमरकोटे'ले खोलाघरे साहिँलो एक बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । जापानबाट विश्वव्यापी बनेको हाइकुको स्वरूप वास्तवमा हाम्रै मौलिक परम्परा र ऋग्वैदिक ज्ञानको जगमा उभिएको बताए । उनले जसरी सिटामोलले शरीरको तापक्रमलाई साम्य पार्छ, त्यसरी नै नेपाली माटोको सुगन्ध बोकेको लोकलयबद्ध हाइकुले नेपाली साहित्यको तिर्खा मेट्ने सामर्थ्य राख्दछ । उनले अगाडि थपे, "हाइकुलाई विदेशी आगन्तुक मात्र मान्नुभन्दा पनि हाम्रै पूर्खाहरूले ऋग्वेदमा प्रतिपादन गरेका काव्यिक चेतको आधुनिक विस्तारका रूपमा बुझ्नुपर्ने कुरामा जोड दिए । खोलाघरे साहिंलोको मुक्तक, गजल र छन्द कविता लगायत समग्र साहित्यिक क्षेत्रमा बृहत् योगदान दिएको प्रसंगको चर्चा गर्दै विमोचित कृति देउमाईको सुसेलीमा नेपालीपनको प्राण प्रतिबिम्बित भएकोमा कृति सफलताको कामना गरे । कार्यक्रमका प्रमुख अतिथि तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ ले प्रसिद्ध संस्कृत सूक्ति "काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम्" लाई उद्धृत गर्दै बुद्धिमान मानिसहरूको समय काव्य र शास्त्रको चिन्तन एवं आनन्दमा व्यतीत हुने विचार व्यक्त गरे । उनले सिर्जनाले विनोद' अर्थात् आत्मिक आनन्द दिनुपर्नेमा जोड दिँदै एक सच्चा सर्जक सधैँ आफ्नै सिर्जनाको गहिराइमा रमाउँदै पाठकलाई समेत सोही भावमा गोता लगाउने सामर्थ्य राख्नुपर्ने धारणा व्यक्त गरे । सर्जकहरूको सामाजिक दायित्वबारे चर्चा गर्दै वेदमणिले देशको रूपान्तरण र परिवर्तनका हरेक मोडमा साहित्यकारहरूले अहं भूमिका निर्वाह गरेको ऐतिहासिक दृष्टान्तहरू प्रस्तुत गरे । कवि, प्रेमी र पागलको हृदयमा हुने एउटै प्रकारको निस्वार्थ भाव र तल्लीनताको चर्चा गर्दै उनले हाम्रा महान् ऋषिमुनिहरू पनि यस्तै उच्च चेतले युक्त रहेको हुनाले आज हामी सम्भ्रांत शिक्षा र संस्कारका धनि हुन सकेको बताउँदै खोलाघरेको लेखन सफलताले चुली चुमोस् भनि शुभकामना व्यक्त गरे । लोकार्पित कृतिका स्रष्टा खोलाघरे साहिँलोले आफ्नो रचनागर्भबारे प्रकाश पार्दै कृतिको जन्म हुनुमा समीक्षक दुर्गा अधिकारी ‘भमरकोटे’को विशिष्ट भूमिका रहेको उल्लेख गरे । उनले विभिन्न चाडपर्व र विशेष अवसरहरूमा भमरकोटेको अनुरोधलाई शिरोधार्य गरी रचना गरिएका थुप्रै ‘सुसेली’हरूलाई नै परिमार्जन र थप विषयवस्तु समेटेर पुस्तकाकार रूप दिएको बताए । कार्यक्रममा साहिँलोले नेपाली भाषाका अतिरिक्त संस्कृत भाषामा समेत आफ्ना सुसेलीहरू वाचन गरेर उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध पारेका थिए । आफ्ना सिर्जनाहरू प्रस्तुत गरिसकेपछि उनले सम्पूर्ण अभ्यागत र अतिथिहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो कृतिमाथि पाठक र अध्येताहरूबाट समुचित प्रतिक्रियाको अपेक्षा राखेको समेत बताए । यसैगरी कार्यक्रमका अतिथि विशिष्ट अतिथि छत्रभूषण दाहालले कृतिको प्रशंसा गर्दै आफूलाई एउटै बसाईमा सिङ्गो पुस्तक पढिसकेको अनुभूति भएको धारणा व्यक्त गरे । उनले उत्कृष्ट रचनाहरूको श्रवणबाट आफ्नो हृदय आल्हादित र अभिभूत भएको बताउँदै ती सिर्जनाहरूमा जीवनका गहिरा भोगाइहरूको सजीव प्रकटीकरण भेटिएको उल्लेख गर्दै कृतकारको सिर्जनशील उन्नयनको कामना गरे । अर्का अतिथि खोदनाथ चापागाईँले आजको रचना वाचनको श्रवणबाट आफूले कुनै पवित्र भजन श्रवण गरे झैँ पारलौकिक आनन्द प्राप्त गरेको अनुभूति सुनाए । स्रष्टा साहिँलोसँग आफ्नो पारिवारिक निकटता र हार्दिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले साहिँलोभित्र लुकेको असाधारण काव्यिक सामर्थ्यलाई आजको कार्यक्रमले उजागर गरेको बताउँदै साहिंलोका आगामी सिर्जनायात्राहरू देदीप्यमान हुँदै अघि बढुन् भनि कामना व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय गान र सहिदहरूप्रतिएक मिनेट मौन धारण गरिएको थियो । अध्यक्ष डिल्लीराज अर्यालद्वारा उपस्थित स्रष्टाहरूलाई शब्दपुष्पद्वारा स्वागत गर्दै रचना वाचनको आरम्भ गरिएको थियो । सोही क्रममा ओम आचार्य, सञ्जय सोती, मुकुन्दराज शिवाकोटी, दीपकप्रसाद ओली, टीका मिलन, भालचन्द्र भण्डारी, सूर्यप्रसाद डुम्रे, बलराम बिष्ट, मधुसूदनप्रसाद घिमिरे, आल्फीफोहेन फाक्लुप्पा, केशव ज्ञवाली, विद्या अनामिका तिवारी, कमला बोहरा, मिसन अधिकारी, प्रमोद भण्डारी, पदम दाहाल, रूबी सत्याल, दुर्गा घिमिरे, सरिता दुलाल घिमिरे, अनन्तकुमार बस्नेत, केशव घिमिरे, सरिता तिमल्सिना, जी.के. एन. खडेरी, नवीन पल्लव, कविराज घिमिरे, बद्रीप्रसाद पुडासैनी, जयराम बिडारी, खोदनाथ चापागाईं, एम.के. पराशर र खोलाघरे साहिँलाले आ-आफ्ना रचना वाचन गरेका थिए । स्रष्टा अप्सरा पोखरेलले आफ्ना रचना वाचनसहित कुशलतापूर्वक सहजीकरण गरेको उक्त कार्यक्रममा गोविन्दप्रसाद पोखरेल, बाबुकाजी कार्की, कपिल अर्याल र किरण खनाल लगायतका साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो । संस्थाका सचिव एवं स्रष्टा भावकेशर बरालद्वारा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति कृतज्ञता प्रकट गर्दै 'सुसेली' मार्फत नयाँ वर्षको शुभकामना व्यक्त गर्दै स्रष्टा खोलाघरे साहिँलोले आफ्नो पुस्तक प्रकाशनको श्रेय मनोहरा साहित्य समाजलाई सुम्पिएको उदारताप्रति आभार प्रकट गरे । स्रष्टाको सिर्जनशील कर्मले अझै उच्च शिखर चुमोस् भन्ने शुभेच्छासहित सचिव बरालद्वारा सभाध्यक्षको अनुमति लिई औपचारिक रूपमा सभा विसर्जन गरिएको थियो ।

प्रतिक्रिया