काठमाडौं । विश्वभर द्वन्द्व र युद्धका कारण बढ्दो अशान्ति, भय र पीडाका बीच शान्तिको सन्देश फैलाउने उद्देश्यले “शान्तिका लागि साइकल यात्रा” आयोजना हुने भएको छ। महासिद्ध पिस स्यान्क्चुअरीको आयोजनामा सञ्चालन हुन लागेको यो यात्रा वैशाख १५ गते काठमाडौंबाट सुरु भई वैशाख १८ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुगेर सम्पन्न हुनेछ।
कार्यक्रमका परिकल्पनाकार श्री श्याल्पा रिन्पोछेका अनुसार विश्वमा बढ्दो अशान्ति कम गर्न करुणा, चेतना र आन्तरिक शान्तिको विकास आवश्यक छ। उहाँले शान्तिलाई व्यवहारमा उतार्न यस्ता अभियान महत्वपूर्ण हुने बताउनुभएको छ।
१०८ जना साइकल यात्री सहभागी रहने यस यात्रामा काठमाडौंको स्वयम्भूबाट सुरु भई पहिलो दिन हेटौंडा, दोस्रो दिन नारायणघाट हुँदै नवलपुरको रजहर, तेस्रो दिन बर्दघाट हुँदै भैरहवा र अन्तिम दिन लुम्बिनी पुगिनेछ। यस यात्रामा अन्य सयौं शान्तिप्रेमी नागरिकहरूको पनि सहभागिता रहने अपेक्षा गरिएको छ।
बुद्धको जन्मभूमि नेपालबाट विश्व शान्तिको सन्देश फैलाउनु नेपालीहरूको कर्तव्य भएको उल्लेख गर्दै आयोजकले कार्यक्रमलाई विशेष महत्व दिएका छन्। बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा मायादेवी मन्दिर दर्शन, बोधि वृक्षमुनि ध्यान तथा विश्व शान्तिका लागि प्रार्थना गरिनेछ। साथै हजारौं दीप प्रज्वलन गरी भगवान बुद्धप्रति कृतज्ञता व्यक्त गरिने कार्यक्रम पनि रहेको छ।
यस अवसरमा सम्माननीय प्रधानमन्त्री, पर्यटन मन्त्री तथा सरोकारवालाहरूलाई पनि विशेष निमन्त्रणा गरिएको छ। नेपाल पर्यटन बोर्डले कार्यक्रमलाई समर्थन गर्ने जनाएको छ भने एनसेल कम्पनीले प्रायोजन गरेको छ।
साइकल यात्रामा सहभागी हुन चाहनेहरूले रु २,५०० शुल्क तिरेर दर्ता गर्न सक्नेछन्। सहभागीहरूका लागि खानपिन तथा बसोबासको व्यवस्था आयोजकले गर्नेछ।
आयोजकका अनुसार यो अभियानले केवल शान्तिको सन्देश मात्र नभई वातावरण संरक्षण र हरित जीवनशैलीप्रति पनि जनचेतना फैलाउने लक्ष्य राखेको छ।
रिन्पोछेले सबैलाई कार्यक्रममा सहभागी भई शान्तिको सन्देश फैलाउन आह्वान गर्दै भन्नुभएको छ, “आउनुहोस्, हामी शान्तिलाई युद्धभन्दा अझ शक्तिशाली र आकर्षक बनाऔं।”