डा. आलोक प्रसाई VITOF नेपालका प्रमुख सल्लाहकारमा मनोनित

bmn.news

काठमाडौं ।  गाउँ पर्यटन प्रवर्द्धनका क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रहँदै आएको संस्था VITOF नेपाल (स्थापना २०५४) ले आफ्नो नयाँ कार्यसमिति गठनसँगै पर्यटन विज्ञ डा. आलोक प्रसाईलाई प्रमुख सल्लाहकारको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ।

संस्थाले गाउँ पर्यटनको विकास, स्थानीय आर्थिक सशक्तीकरण र दिगो पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित अनुभवी र जानकार व्यक्तित्वलाई सल्लाहकारको भूमिकामा ल्याउने क्रममा डा. प्रसाईलाई उक्त पदमा मनोनित गरेको जनाएको छ। पर्यटन क्षेत्रमा उहाँको दीर्घ अनुभव, अध्ययन तथा सक्रिय सहभागिताले संस्थाको आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

प्रमुख सल्लाहकारमा मनोनित भएपछि डा. आलोक प्रसाईले संस्थाको नयाँ कार्यसमिति, पूर्व अध्यक्षहरू, पूर्व सल्लाहकारहरू तथा सम्पूर्ण सरोकारवालाप्रति आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले आफूलाई दिइएको जिम्मेवारीलाई उच्च सम्मानका साथ ग्रहण गर्दै आफ्नो ज्ञान, सीप र अनुभवलाई संस्थाको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“मेरो क्षमता, दक्षता र अनुभवले जानेका र बुझेका विषयवस्तुमा सधैं यहाँहरूलाई साथ र सहयोग रहनेछ,” उहाँले भन्नुभयो।

डा. प्रसाईले गाउँ पर्यटनको दिगो विकास, स्थानीय समुदायको सहभागिता, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले VITOF नेपालसँग सहकार्य गर्दै नीति निर्माण, कार्यक्रम विकास र कार्यान्वयनका पक्षमा सक्रिय भूमिका खेल्ने संकेत पनि गर्नुभयो।

VITOF नेपालले स्थापना कालदेखि नै गाउँ पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको छ। संस्थाले ग्रामीण क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा सामाजिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय जनताको आयआर्जन बढाउने लक्ष्य राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

डा. प्रसाईको आगमनसँगै संस्थाले अझ सशक्त रणनीति र स्पष्ट दृष्टिकोणका साथ गाउँ पर्यटनको विकासमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया